२०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल आए

गत भदौको जेनजी आन्दोलनका कारण नेपाल भित्रने पर्यटक घट्न सक्ने अनुमानविपरीत विदेशी पर्यटकको सङ्ख्या भने बढेको छ ।

नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी विश्लेषणात्मक तथ्याङ्क अनुसार सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन त्यसअघिको सन् २०२४ को तुलनामा करिब ११ हजारले बढी हो । सो वर्ष ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

रोचक तथ्याङ्क के छ भने जेनजी आन्दोलनपछि नेपाल भित्रिने पर्यटक अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेका छन् । जेनजी आन्दोलन भएको सेप्टेम्बरपछिका तीन महिनामा पर्यटक आगमन बढेको बोर्डको तथ्याङ्कले देखाउँछ ।

बोर्डका अनुसार अक्टोबरमा एक लाख २८ हजार ४४३ पर्यटक भित्रिएका थिए जबकि त्यसअघि २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९३ पर्यटक नेपाल आएका थिए । त्यस्तै नोभेम्बरमा एक लाख १६ हजार ५५३ पर्यटक भित्रिँदा २०२४ को नोभेम्बरमा एक लाख १४ हजार ४९६ जना नेपाल आएको तथ्याङ्क छ ।

डिसेम्बरमा पनि पर्यटकको सङ्ख्या त्यसअघिको वर्षको तुलनामा बढेको छ । गत डिसेम्बरमा ९८ हजार १९० पर्यटक नेपाल आएकोमा सन् २०२४ को सोही महिनामा ९२ हजार मात्रै आएका थिए ।

पछिल्ला केही वर्षयता नेपाल भित्रिने समग्र पर्यटकको सङ्ख्या पनि निरन्तर वृद्धि देखिन्छ । सन् २०२३ मा १० लाख १४ हजार ८८२ पर्यटक नेपाल आएकोमा सन् २०२४ मा एक लाख ४० हजारभन्दा बढी पर्यटकको सङ्ख्या बढेको तथ्याङ्कले देखाउँछ ।

नेपाल भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । बोर्डका अनुसार सन् २०२५ मा दुई लाख ९२ हजार भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने पर्यटकको मात्र सङ्ख्या हो ।

भारतपछि सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाका पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्ष एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । त्यसअघि सन् २०२४ मा एक लाख ११ हजार २१७ अमेरिकी पर्यटक नेपाल आएका थिए । अमेरिकापछि धेरै पर्यटक आउने सूचीमा चीन रहेको छ ।

बोर्डका अनुसार ९५ हजार ४८० चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसपछि ५७ हजार ५४५ जना बङ्गलादेशका पर्यटक नेपाल आएका छन् । एसियाली मुलुकमध्ये थाइल्यान्ड, जापान, दक्षिण कोरिया, मलेसियाबाट पनि नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटक आएको तथ्याङ्कले देखाउँछ ।

युरोपेली मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या सन् २०२४ को तुलनामा सात हजारले बढेर सन् २०२५ मा दुई लाख २१ हजार पुगेको छ । युरोेपेली मुलुकमध्ये संयुक्त अधिराज्यबाट ५८ हजार ६८४ पर्यटक नेपाल आएका छन् । त्यसपछि जर्मनी, फ्रान्स, रसिया, इटाली, स्पेनलगायत मुलुक रहेका छन् ।

आसियान क्षेत्रमा अस्टे«ेलियाबाट आउने पर्यटक पनि बढेका छन् । सन् २०२४ को तुलनामा पाँच हजार बढेर ४९ हजार ३५७ जना अस्टे«लियाका पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्याङ्क छ । अफ्रिकाबाट नेपाल घुम्न आउनेको सङ्ख्या भने सामान्य घटेको छ । सन् २०२५ मा चार हजार ३२० जना अफ्रिका महादेशका पर्यटक नेपाल भ्रमण आएका छन् । त्यसअघि सन् २०२४ मा चार हजार ४५६ पर्यटक नेपाल आएका थिए ।

पहिले खासै नेपाललाई गन्तव्य नबनाउने मध्यपूर्वका पर्यटकको रोजाइमा नेपाल पनि पर्न थालेको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय पदयात्रा तथा हिमाल आरोहणमा समेत सो क्षेत्रका पर्यटकको चासो बढ्न थालेपछि त्यसको लाभ नेपालले पाएको छ ।

बोर्डका अनुसार सन् २०२५ मा २० हजार पाँच सय जना सो क्षेत्रका पर्यटक नेपाल आएका छन् जबकि सन् २०२४ मा १६ हजार छ सय जना सो क्षेत्रका पर्यटक नेपाल आएका थिए । मध्यपूर्व क्षेत्रमध्ये सबैभन्दा धेरै इजरायलबाट ११ हजार आठ सय पर्यटक आएका छन् । त्यसपछि टर्की, संयुक्त अरब इमिरेट्स, साउदी अरबलगायतका मुलुकका छन् ।  रासस


ताजा खबर