मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ को शुभारम्भ भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ शुभारम्भ गर्नुभएको हो ।
‘स्वस्थ मन, स्वस्थ जीवन’ ‘मनको कुरा गरौँ’ भन्ने नारासहितको यो अभियान मङ्सिर २४ गतेदेखि फागुन ३० गतेसम्म तीन महिनासम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा मन्त्री गौतमले मानसिक स्वास्थ्य आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । मन्त्री डा. गौतमले शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भए पनि मानसिक स्वास्थ्यको क्षेत्रमा थोरै काम भएकोले आफ्नो प्राथमिकता मानसिक स्वास्थ्य रहेको स्पष्ट पार्नुभयो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी आवश्यक बजेटको व्यवस्था गर्ने कसरत गरिरहेको मन्त्री गौतमको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरूमा मानसिक स्वास्थ्य परामर्शदाताको दरबन्दी एकदमै न्यून रहेको बताउँदै उहाँले मन्त्रालयले तालिमको व्यवस्था गरी मनोपरामर्श सेवाको कामलाई अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सुरु गरेको बताउनुभयो ।
केन्द्रका वरिष्ठ प्रशासक उपेन्द्र ढुङ्गानाका अनुसार यस अभियानले किशोर, किशोरी युवा, आम जनमानसलाई प्राथमिकतामा राखेको छ ।
ढुङ्गानाका अनुसार अभियानको क्रममा पहिलो र दोस्रो हप्तामा भावना र तनावको अभिव्यक्तिलाई स्वीकार्ने र सामान्य बनाउने, तेस्रो र चौथौ तनाव सामना गर्ने तरिका, स्व हेरचाह, परिवार र समुदायको सहयोग, दैनिक तनाव व्यवस्थापन गर्ने , पाँचौँ र छैटौँ हप्ता रोग विशेष परिचय गर्ने, सातौँ र आठौँ हप्ता सहयोग खोज्ने र मानसिक सामाजिक परामर्श गर्ने नवौँ र १० औँ हप्तामा आत्महत्या रोकथाम, ११औँ र १२ औँ हप्तामा सम्बन्ध जोड्ने र समापन गर्ने अभियानको योजना तय भएको छ । रासस
























