लुम्बिनी प्लेअफमा, जनकपुर, पोखरा र चितवन बाहिरिए

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ ।

आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो ।

लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित भइसकेका छन् ।

आजको खेलमा जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टाएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन हिर्काएका छन् । बलिङमा जनकपुरका सङ्गीथ कुरेले तीन विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेकामा जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३२ रन बनाएको थियो । जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरेका छन् । लुम्बिनीका कप्तान पौडेल र शेर मल्लले समान दुई÷दुई विकेट झारे । रासस


ताजा खबर