नेपाल मेडिकल काउन्सिल निर्वाचनमा डा. सरोज गोहिवारको उम्मेदवारी

आगामी नेपाल मेडिकल काउन्सिल (NMC) निर्वाचनका लागि उम्मेदवार नम्बर २९ डा. सरोज गोहिवारले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्नुभएको छ।

आगामी नेपाल मेडिकल काउन्सिल (NMC) निर्वाचनका लागि उम्मेदवार नम्बर २९ डा. सरोज गोहिवारले ‘आधुनिक र पारदर्शी काउन्सिल‘ नारा सहित आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्नुभएको हो। उहाँले स्वास्थ्य क्षेत्रको समग्र सुधार, सेवा–प्रवाहमा पारदर्शिता र चिकित्सकीय दिगोपनालाई मुख्य उद्देश्यका रूपमा प्रस्तुत गर्नुभएको छ।

डा. गोहिवारले निम्न चार एजेन्डा अघि सार्नुभएको छः

१) सेवाको पहुँच विस्तारका लागि काउन्सिल संरचनाको विकेन्द्रीकरण
२) सबै प्रक्रियाको चरणबद्ध डिजिटल रूपान्तरण
३) डाक्टर, बिरामी तथा सम्बन्धित पक्षहरूबीचको सम्वन्ध सुदृढ बनाउन विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन
४) चिकित्सकको कानूनी सुरक्षाका लागि सक्षम र परिणाममुखी एनएमसी निर्माणका निम्ति पहल

उहाँका अनुसार, यी सुधारात्मक कदमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके हालका धेरैजसो चिकित्सकहरूले सामना गर्दै आएका मेडिको–लिगल चुनौतीहरू दीर्घकालीन रूपमा न्यूनीकरण हुने अपेक्षा छ।

उम्मेदवारी घोषणा गर्दै डा. गोहिवारले भन्नुभयो, “उम्मेदवारी नम्बर केवल चुनावी परिचयको माध्यम मात्र होइन। निर्वाचनपछि पनि आम चिकित्सकका समस्या, अधिकार र आवाजलाई निरन्तर प्रवद्र्धन गर्दै अघि बढ्ने मेरो प्रतिबद्धता हो। म कुनै एक समूहका लागि होइन, सम्पूर्ण चिकित्सक समुदायको साझा आवाज बन्न चाहन्छु।”

हाल काउन्सिलको नियमन, चिकित्सक दर्ता प्रक्रिया, सेवा गुणस्तर तथा व्यावसायिक अनुशासनका विषयमा व्यापक बहस भइरहेका बेला डा. गोहिवारको उम्मेदवारीले चिकित्सा क्षेत्रभित्र थप चासो र छलफल उत्पन्न गराएको छ।

निर्वाचन नजिकिँदै जाँदा विभिन्न उम्मेदवारहरूले आफ्ना योजनाहरू सार्वजनिक गरिरहेका छन्। चिकित्सा सेवाको दिगो सुधार तथा सेवा प्रदायक र सेवाग्राहीबीचको विश्वास सुदृढ गर्न केन्द्रित एजेन्डाले आगामी कार्यकालमा काउन्सिलको भूमिकासम्बन्धी संवादलाई अझ सकारात्मक दिशातर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

स्मरणीय छ, नेपाल मेडिकल कलेजमा रेजिडेन्ट रहेका बेला डा. गोहिवारले रेजिडेन्ट डाक्टरहरूको आन्दोलनको नेतृत्वसमेत गर्नुभएको थियो। न्यून तलब भुक्तानीविरुद्ध आवाज उठाएपछि उहाँलाई सेवाबाट निलम्बन गरिएको थियो। चिकित्सकहरूका हकहित, समस्या तथा आन्दोलनका क्रममा उहाँले निरन्तर अग्रसर भई सम्बन्धित निकायहरूसमक्ष स्पष्टरूपमा मुद्दा प्रस्तुत गर्दै आउनुभएको छ। रासस


ताजा खबर