एनपीएल : कर्णालीको पाँचौं हार, प्लेअफबाट बाहिरियो

कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को प्लेअफ दौडबाट बाहिरिएको छ । मंगलबार भएको आफ्नो छैटौं खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली प्लेअफ दौडबाट बाहिरिएको हो ।

६ खेलमा एक खेलमा मात्रै जित निकालेको कर्णाली प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको छ । अन्तिम खेलअघि २ अंक मात्र जोडेको कर्णालीले अब अन्तिम खेल जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने छैन ।

पोखरा एभेन्जर्सले भने एनपीएलमा प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए । त्यस्तै, नजिबुल्लाह जद्रानले २४ रन बनाए । पवन सर्राफले १९ र प्रियांक पन्चलले १६ रन बनाए । जयकिशन कोल्सावाला ६ रन बनाएर आउट भए भने गुल्सन झा ९ रन बनाएर आउट भए ।

बलिङमा पोखराका लागि धनन्जय लक्षन र ऋषी धवनले ३–३ विकेट लिए । यस्तै सन्दीप खत्री क्षेत्री, किरण ठगुन्ना, कप्तान कुशल भुर्तेल १–१ विकेट लिए ।

त्यसअघि, टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनायाे ।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे ।

त्यस्तै, जेसोन रोयले ४६ रन बनाए भने कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए । साथै, धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक–एक विकेट लिए ।


ताजा खबर