नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टायो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३६ बलमा ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४० रन बनाए।
यस्तै, एनपिएलमा डेब्यू गरिरहेका निरोशन डिक्वेलाले २२ बलमा ३७ रन बनउाँदा सन्दीप जोराले २२ बलमा २५ र गुल्बाद्दिन नबइले १७ रन बनाए। बलिङमा पोखराका विपिन खत्री, म्याट टेलर र सागर ढकालले समान २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले एडम रोसिङटन र जिमी निशमको अर्धशतक मद्दतमा ५ विकेटको क्षतिमा १५० रन बनायो।
उसका लागि रोसिङटनले ६७ बलमा ७ चौका र ५ छक्का मद्दतमा ८१ रन बनाए। यस्तै, निशमले ३२ बलमा समान ३ चौका र छक्का मद्दतमा नटआउट ५१ रन बनाए। यी दुईले ३३–४को दबावपूर्ण अवस्थाबाट पाँचौं विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
यता, कप्तान कुशतल भुर्तेल लगातार दोस्रो खेलमा गोल्डेन डकआउट भए। यसअघि उनले सुरुआती दूई खेलमा दुई अर्धशतक बनाएका थिए।
बलिङमा लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले समान २ विकेट लिँदा गुल्बाद्दिन नइबले १ विकेट लिए।
यो जितसँगै लुम्बिनी ४ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने पोखरा २ अंकसहित सातौं स्थानमा छ। लिगमा समान ८ अंक जाडेको सुदूरपश्चिम रोयल्स र विरानगर किंग्स शीर्ष दुईमा छन्। रासस






















