नेपालमा हरेक १० मिनेटमा १ जनालाई स्ट्रोक हुने गरेको छ

“नेपालमा स्ट्रोक भएकामध्ये ७० प्रतिशत रगतको नशा अवरुद्ध भएर र ३० प्रतिशत हेमोरेजिङ रगतको नशा फुटेर हुन्छ । १० प्रतिशतको स्ट्रोकको कारण मृत्यु हुने गरेको तथ्यांक देखिएछ । विश्वको तथ्यांक अनुसार हरेक ४ जनामा १ जनालाई स्ट्रोक हुने सम्भावना हुन्छ । नेपालमा हरेक १० मिनेटमा १ जनालाई स्ट्रोकले असर गर्छ ।”

डा. राजु पौडेल विगत दुई दशकदेखि स्नायु रोग उपचारमा सक्रिय वरिष्ठ न्युरोलोजिस्ट हुनुहुन्छ । उहाँले सन् २०१७ मा काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय स्ट्रोक सम्मेलनको अध्यक्षता गर्नुभएको थियो र विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिसक्नुभएको छ । नेपाल सरकारद्वारा २०८० सालमा नेपाल विद्याभूषण ए बाट सम्मानित भएका नेपाल स्ट्रोक एसोसियसनका अध्यक्ष  समेत रहनुभएका न्युरोलोजिस्ट डा. पौडेलसँग गरिएको सफल कुराकानी:

स्ट्रोकका बिरामी कति छन् र नेपालको अवस्था कस्तो छ ?

विश्वको आँकडा विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हेर्ने हो भने हरेक वर्ष १ करोड ५० लाख जनालाई स्ट्रोक हुन्छ । तीमध्ये एक तिहाइको मृत्यु हुन्छ । नेपालको आँकडा हेर्ने हो भने वर्षेनी २० देखि २५ हजारलाई स्ट्रोक हुन्छ भनेको छ । तर, यो एकदम थोरै संख्याको आँकलन गरिएको छ । जनसंख्यको आधारमा हेर्ने हो भने नेपालमा वर्षमा ५० हजारको हाराहारीमा स्ट्रोक हुने गरेको अनुमान छ । नेपालको आँकडालाई ग्लोबल वर्णन डिजिजले कम अनुमान गरेको छ । नेपालमा स्ट्रोक भएकामध्ये ७० प्रतिशत रगतको नशा अवरुद्ध भएर र ३० प्रतिशत हेमोरेजिङ रगतको नशा फुटेर हुन्छ । १० प्रतिशतको स्ट्रोकको कारण मृत्यु हुने गरेको तथ्यांक देखिएछ । विश्वको तथ्यांक अनुसार हरेक ४ जनामा १ जनालाई स्ट्रोक हुने सम्भावना हुन्छ । नेपालमा हरेक १० मिनेटमा १ जनालाई स्ट्रोकले असर गर्छ ।

स्ट्रोक कसरी हुन्छ ?

स्ट्रोक दुई प्रकारको हुन्छ एउटा नशा बन्द भएर र एउटा नशा फुटेर हुन्छ । यसको चुनौती उच्च रक्तचाप, मधुमेह, मोटोपना, निस्क्रिय जीवन पद्धति, मुटुका समस्या प्रमुख कारण हुन् । यी कारणले गर्दा शरीरमा बोसो जम्ने प्रक्रिया बढ्छ र अन्ततः यसले दिमागमा जाने नशालाई बन्द गरिदिन्छ । कतिपय अवस्थामा रगतको नशा पातलो भएर नशा फुटेर पनि स्ट्रोक हुन्छ ।

बच्ने उपाय के–के छन् ?

जीवन शैली परिवर्तन, खानपान, उच्च रक्तचापको सही पहिचान र समयमा उपचार नै यसबाट बच्ने सही उपाय हो । साथै मध्यपान, धुम्रपान त्याग्नुपर्छ ।

जन्मजातै पनि हुन्छ कि ?

अनुवांशिक परिवर्तनले पनि हुन सक्छ । बच्चामा पनि देखिन्छ । तर, कारण फरक हुन्छ ।

कुन उमेर समूहमा बढी हुन्छ ?

धेरैजसो ६० वर्ष कटेपछि हुन्छ । जीवन शैलीका कारण धेरै युवापुस्तामा नै यो समस्या देखिएको छ । ६० वर्षमाथिका मानिसमा स्ट्रोक देखिने सम्भावना बढी हुन्छ । हार्टयाट्याक युवावर्गमा देखिएको छ । स्ट्रोक ४० वर्षकै उमेरका युवा पुस्तामा पनि देखिएको छ ।

स्ट्रोकको लक्षण र बिरामी कति समयमा स्वास्थ्य केन्द्रमा पुग्यो भने उपचार हुन्छ ?

सबैभन्दा पहिला स्ट्रोकका लक्षणहरु पहिचान गर्नुपर्छ । स्ट्रोकको लक्षणहरुमा हातखुट्टा कमजोर हुने, बोली लरबरिने, सन्तुलन बिग्रने, आँखाको ज्योति कम हुने हुन्छ । यस्तो अवस्थामा तुरुन्तै जतिसक्दो चाँडो अस्पताल जानुपर्छ । स्ट्रोकमा गोल्डेन आवर साढे ४ घण्टाभित्र अस्पताल पुग्न सक्यो भने नशा बन्द हुने खालको स्ट्रोकमा थर्मोलाइसिस (रगतको ढिक्का पगाल्ने औषधि) दिन सकिन्छ । अवरुद्ध भएको नशालाई खुला गरेर पुरानै अवस्थामा ल्याउन सकिन्छ । यो उपचार र औषधि सरकारले निःशुल्क रूपमा दिनुपर्छ ।

स्ट्रोक कतिको खर्चिलो उपचार हो ?

रगत जमेको फुटाउने औषधिको मात्र ६० देखि ७० हजार पर्छ । यो सामान्य व्यक्तिलाई आकस्मिकमा आउँदा एकैपटक खर्च गर्न गाह्रो हुन्छ । यसका साथै अन्य सिटिस्क्यान, इको, ईसीजी, रगत, एक्सरे, बेड चार्ज, नदेखिने परीक्षणले बिरामीलाई निकै आर्थिक भार हुने हुनाले सरकारले यसको निःशुल्क उपचार गर्नुपर्छ । यस्ता उपचारको बीमा सेवाबाट हुने व्यवस्था गर्नुपर्छ । सरकारी अस्पतालमा सिटिस्क्यान लगायत स्ट्रोक युनिटको विकास गर्न सक्यांै भने गुणस्तरीय उपचार र बिरामीको ज्यान बचाउन सकिन्छ ।

नेपालमै उपचार सम्भव छ कि छैन ?

स्ट्रोक आकस्मिक समस्या हो । विश्वस्तरमा जुन सेवा छ त्यस्तै नेपालमा पनि हुन्छ । तर, अहिले प्राइभेट र शिक्षण अस्पतालमा मात्रै सीमित छ । सरकारीस्तरमा स्ट्रोकको केयर दिन सकिराखेका छैनौं । स्ट्रोक उपचारका लागि विदेश जानुपर्ने रकेट विज्ञान छैन । विश्वका लेटेस्ट प्रविधिबाट नेपालमा उपचार भइरहेको छ ।

अन्तिममा, विशेष केही भन्नु छ कि ?

सरकारले राष्ट्रिय नीतिलाई ग्रहण गरेर हरेक अस्पतालमा प्रोटोकल लाइन गर्यो भने, सबैतिर एउटै समान रूपमा उपचार हुने हो भने उपलब्धि पनि हुन्थ्यो । विस्तृतमा यही समिटमा एसोसियसनले तयार पारेको कार्यविधि सरकारलाई बुझाउने योजना गरेका छौं । सरकारले हरेक प्रदेशमा क्याथल्याबको व्यवस्था गर्नुपर्छ । स्ट्रोक सम्बन्धी सरकारले छुट्टै कार्यक्रम राख्नु जरुरी छ।

  बरिष्ठ न्यूरोलोजिस्ट डा.राजु पौडेल ग्राण्डी अस्पतालका स्ट्रोक कार्यक्रम निर्देशक हुनुहुन्छ ।


ताजा खबर