नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।
सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो ।
जितका लागि १९४ रनको लक्ष्य पाएको पोखराले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १७५ रन बनायो ।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाए ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे ।
यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे ।
पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए ।
यो जितसँगै सुदूरपश्चिम चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेलमा पराजित भएको हो।पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो।एनपिएलमा शनिबार दुई खेल हुँदैछन्। रासस






















