दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा काठमाण्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा गोर्खाजले साविक विजेता टोली जनकपुर बोल्ड्समाथि ५ विकेटको जित निकालेको हो ।
काठमाण्डुले टस जितेर पहिले फिल्डीङ रोजेपछि ब्याटिङको निम्तो पाएको जनकपुरले दिएको १ सय ३१ रनको मध्यम लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । काठमाण्डुको जितमा वेन थाल्र्सवर्थले सवाधिक ४६ रन बनाए । २३ बल मात्र खेलेका उनले ३ छक्का र ५ चौका प्रहार गरे । यस्तै ४५ बलको सामना गरेका आकाश त्रिपाठीले ३९ रनको योगदान गरे ।
आजको खेलको नतिजापछि काठमाण्डुले २ अंक जोडेको छ । लिग अन्तर्गत मङ्गलबार हुने खेलमा मध्यान्ह पौने १२ बजे चितवन राइनोज र कर्णाली याक्स तथा अपरान्ह ४ बजे हुने खेलमा बिराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । रासस






















