देशभर नर्सहरू आन्दोलित : कालोपट्टी बाँधेर काम गर्दै

नर्सिङ संघको  आह्वानमा  नर्सहरूले  कालोपट्टी बाँधेर काम गरिरहेका छन्। संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मागपत्र पेश गर्दै तोकिएको समयभित्र माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।

संघका अनुसार, मन्त्रालयले असोज २ गते माग सम्बोधनका लागि कार्यदल गठन गरे पनि अहिलेसम्म ठोस कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बनेको हो। संघको प्रतिनिधित्वसमेत रहेको उक्त कार्यदललाई छठ पर्वपछि सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

संघकी अध्यक्ष  चन्द्रकला शर्मा नेतृत्वको कार्यसमितिले जारी गरेको वक्तव्यअनुसार, संघले असोज २ गते पुनः मागपत्र पेस गरेको थियो। सो मागहरु पूरा नभएसम्म आन्दोलन चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ।

 कार्यक्रमहरुः

असोज ११ गतेसम्म — देशभरका अस्पताल र स्वास्थ्य शैक्षिक संस्थामा कालोपट्टी बाँधेर काम।
असोज १२ देखि १८ गतेसम्म — बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द।
असोज १८ पछि — कार्यदलको प्रतिवेदन अनुसार थप आन्दोलनको कार्यक्रम घोषणा।

 मागहरुः

१. निजि अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सुविधा नेपाल सरकार सरह नघट्ने गरी सुनिश्चित गरियोस्।
२. दक्ष नर्सिङ जनशक्तिलाई श्रमिक होइन, स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थित पेशाको रूपमा मान्यता दिइयोस्।
३. रात्रीकालीन, सार्वजनिक विदा तथा चाडपर्वमा काम गरेबापत एक दिन बराबरको तलब र ७० प्रतिशत जोखिम भत्ता दिइयोस्।
४. आवश्यकता र मापदण्डअनुसार दरबन्दी सिर्जना र कामको व्यवस्था गरियोस्।
५. शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा नियमित स्तरवृद्धि र बढुवाको व्यवस्था गरियोस्।
६. सामुदायिक तथा निजी विद्यालयमा नर्सको स्थायी दरबन्दी सिर्जना गरियोस्।
७. करार तथा ज्यालादारी नर्सहरूलाई स्थायी बनाइयोस्, सक्कल प्रमाणपत्र संस्थाले राख्न नपाउने व्यवस्था गरियोस्।
८. नर्सहरूको तलब, सुविधा र दरबन्दी मापदण्ड स्वास्थ्य मन्त्रालयको दर्ता तथा नविकरण प्रणालीमा स्पष्ट रूपमा समावेश गरियोस्।
९. योग्य नर्सहरूलाई स्वास्थ्य संस्थामा प्रमुखको जिम्मेवारी पाउने अवसर दिइयोस्।
१०. स्वास्थ्यकर्मीहरूलाई प्राविधिक २ ग्रेड यथावत राखी अन्य ग्रेडमा समानता कायम गरियोस्।
११. ५० भन्दा बढी कामदार भएका उद्योग र कलकारखानामा औद्योगिक नर्सको स्थायी व्यवस्था गरियोस्।


ताजा खबर