भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

इलाम जिल्लालाई तीन महिना अवधिको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले इलाम जिल्लालाई तीन महिना अवधिको लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिनुभयो ।

यस्तै मन्त्री खरेलले प्रहरी नायव महानिरीक्षकहरू शुसिलसिंह राठोर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्वरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिजाको सम्बन्धमा समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन तथा छानविन समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने र नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजविन समिति २०८१ ले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने पनि निर्णय गरेको मन्त्री खरेलले बताउनुभयो । रासस


ताजा खबर