किम जोङ उनद्वारा ‘शत्रु दण्डका लागि’ निर्मित विध्वंसक जहाजको निरीक्षण

उत्तर कोरियाली नेता किम जोङ उनले देशको नयाँ युद्धपोतको निरीक्षण गर्दै पाँच हजार टन क्षमताको विध्वंसकले ‘शत्रुको उक्साहटलाई दण्ड दिन सक्षम हुनुपर्छ’ भन्नुभएको राज्य मिडियाले सोमबार जानकारी दिएको छ ।

‘चो ह्योन’ नामक यो युद्धपोत उत्तर कोरियाको शस्त्रागारमा रहेका दुई हजार टनका विध्वंसकमध्ये एक हो, जुन किमले नौसेना शक्ति विस्तार गर्ने रणनीतिअन्तर्गत यसै वर्ष प्रक्षेपण गर्नुभएको हो ।

“यो युद्धपोत हाम्रो सशस्त्र बलको विकासको स्पष्ट प्रदर्शन हो”, किमले आइतबार निरीक्षणका क्रममा भन्नुभएको केसिएनएको समाचारमा जनाइएको छ ।

उहाँले भन्नुभयो, “राज्यको सार्वभौमसत्ताको रक्षाका लागि शत्रुको कुनै पनि उक्साहटलाई रोक्न, प्रतिरोध गर्न र सजाय दिन विशाल समुद्रमा हाम्रो नौसेनाको अपार क्षमता प्रयोग गर्नुपर्छ ।”

किमले आगामी वर्षको अक्टोबरसम्म यस्तै श्रेणीको तेस्रो विध्वंसक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार ‘चो ह्योन’ युद्धपोत युक्रेन युद्धमा मस्कोलाई समर्थनस्वरूप उत्तर कोरियाले आफ्ना हजारौँ सैनिक पठाउने सर्तमा रुसी सहयोगमा विकसित गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

केसिएनएका तस्बिरहरूमा किमलाई युद्धपोतको नियन्त्रण कक्षभि, कोरियाली प्रायद्वीप वरिपरि समुद्र देखाउने मोनिटरहरू निरीक्षण गरिरहनुभएको देखिन्छ । अर्को तस्बिरमा उहाँले सैन्य जनरलहरू सामु नक्सामा औँल्याउँदै निर्देशन दिइरहनुभएको देखिन्छ ।

किमको यो भ्रमण उहाँले दक्षिण कोरियामा अमेरिकी हतियार निर्माणको प्रतिक्रियामा ‘प्रमुख लक्ष्यहरूमा विशेष सम्पत्ति तैनाथ गर्ने’ घोषणा गरेको एक दिनपछि भएको हो । यद्यपि त्यसबारे विस्तृत जानकारी दिइएको छैन ।

शनिबार उहाँले चेतावनी दिँदै भन्नुभएको थियो, “प्योङयाङका शत्रुहरूले आफ्नो सुरक्षा वातावरण कुन दिशातर्फ गइरहेको छ भनेर गम्भीर चिन्ता गर्नुपर्नेछ ।”

अमेरिकाले आणविक हतियारसहितको उत्तर कोरियाको खतराबाट सुरक्षा गर्न दक्षिण कोरियामा करिब २८ हजार पाँच सय अमेरिकी सैनिक तैनाथ गरेको छ । साथै, गत महिना अमेरिकाले आफ्ना सुरक्षा सहयोगी दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यास पनि सम्पन्न गरेको थियो ।

प्योङयाङले त्यस्ता अभ्यासहरूलाई आक्रमणको पूर्वाभ्यासका रूपमा निन्दा गर्ने गरेको छ भने सहयोगी देशहरूले ती अभ्यासहरू पूर्णतः रक्षात्मक उद्देश्यका भएको स्पष्ट पार्दै आएका छन् । रोयटर्स / रासस


ताजा खबर