काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा २० हजार २८२ जना विद्यार्थीलाई करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ।
महानगरपालिकाले एक कानुनको प्रभावकारी कार्यान्वयनले यो वर्ष ठूलो संख्यामा विद्यार्थीले छात्रवृत्ति पाएको जानकारी दिएको हाे ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत छात्रवृत्ति वितरणको विवरण सार्वजनिक गर्दै यस शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्म १६,९८० र कक्षा ११ मा ३,३०२ गरी जम्मा २०,२८२ विद्यार्थीले लाभ लिएको बताएका छन्।
छात्रवृत्ति वितरणको पहिलो वर्ष १३,००० र दोस्रो वर्ष १९,००० विद्यार्थीले छात्रवृत्ति पाएका थिए। मेयर शाहले कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुने भन्दै कानुन निर्माण र कार्यान्वयन दुवैमा महानगर गम्भीर रहेको उल्लेख गरेका छन्।
उनका अनुसार, यो शैक्षिक सत्र २०८२ मा हालसम्म ४४० विद्यालयले मात्र विवरण बुझाएका छन्। विवरण नबुझाउने विद्यालयलाई उनले कडा चेतावनी दिएका छन्।
“केही विद्यालयले हालसम्म विवरण बुझाएका छैनन्। उहाँहरूलाई यथाशीघ्र विवरण बुझाउन अनुरोध गर्छौँ,” मेयर शाहले भनेका छन्, “विवरण पेस नगर्ने विद्यालयहरूलाई बन्द विद्यालयको रूपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ।”
महानगरले प्राप्त भएको छात्रवृत्तिको विवरणको अनुगमन गर्ने र फरक पाइएमा कानुन बमोजिम कारबाही हुने पनि स्पष्ट पारेको छ।
छात्रवृत्ति वितरण प्रणालीको सन्दर्भमा, कक्षा ११ को छात्रवृत्ति केन्द्रीकृत प्रणालीबाट गरिएको छ भने कक्षा १ देखि १० सम्मको वितरण ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले गरेको विवरण प्राप्त भएको जनाइएको छ।






















