~ शोभा पाण्डेय/ सिलवाल
बुबा हुन् हाम्रा जीवनदाता जिउँदा देवता
सपना आफ्ना मारेर हाँस्ने को नै छ महत्ता ।
आफ्नै पेट कसी पुस्तौँको पेट भर्नका निमित्त
दिन र रात एक गरी अझै बनेर अतृप्त ।
असल शिक्षक बनेर हाम्लाई अगाडि बढायौ
पर्खाल बनी तुफानबाट हामीलाई बचायौ ।
हौ रक्षा कवच सन्तानका लागिअमूल्य तिम्रा गुण
आदित्य जस्तै महान् छौ पिता छैन नि अवगुण ।
आकाश जस्तो हृदय तिम्रो अद्भुत माया छ
माया नै माया आच्छादित भई जीवन फुल्दछ ।
अदृश्य छाया बनेर पिता सन्तानका हितमा
जीवनका कवि बनेर भाव छर्दछन् सन्तानमा ।
दर्शन शास्त्री जस्ता छन् पिता मौन रुपमा पढाउने
अज्ञानी हामी नबनी गरौँ काम उनलाई हँसाउने ।
आच्छन्न माया पाई नै रहौँ चिरकालसम्म नि
कृतघ्न होइन ,कृतज्ञ बनी स्मरण गर्छौँ नि ।
जति नै गुणगान गाए नि बुबा हजुरको त्यागको
हुनेछ सधैं अपूरो नइ हाम्रा यी शब्दको ।
जे भए पनि स्विकार्नु बुबा सन्तानको पुकार
मुख हेर्न आउन नपाए पनि श्रद्धा छ मनभर , श्रद्धा छ मनभर ।






















