भोल्टे रोमिङ सुरु गर्ने पहिलो नेपाली टेलिकम बन्यो एनसेल

नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकका लागि ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने एनसेल पहिलो नेपाली टेलिकम कम्पनी बनेको छ ।

यससँगै अब ग्राहकले विदेश यात्रा गर्दा पनि स्पष्ट सुनिने भ्वाइस कल र उच्च गतिको डेटा सेवा उपयोग गरी सधैं अन रहन सक्छन् ।

एनसेलले पहिलादेखि नै विभिन्न देशबाट नेपाल आउने विदेशीलाई इन्बाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको छ । कम्पनीले अब आफ्नो सेवा विस्तार गर्दै सोमबारदेखि लागु हुने गरी भारत जाने ग्राहकका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि प्रदान गर्न थालेको हो ।

भोल्टे दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । यसले फोरजी नेटवर्क मार्फत अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाज सहित एचडी कल सुविधा प्रदान गर्दछ । यो सेवा थपिँदा पहिला नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिइरहेका एनसेलका ग्राहकका लागि भारत रोमिङ अझै परिस्कृत भएको कम्पनीको भनाइ छ ।

विभिन्न उद्देश्यसाथ नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटक समेत सबै ग्राहकलाई उत्कृष्ट डेटा र भ्वाइस सेवा अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले जनाएको छ । ग्राहकलाई भारत भ्रमणका बेला गुणस्तरीय सेवा प्रदान गर्न एयरटेलसँग साझेदारी गर्न पाएकोमा कम्पनी खुसी रहेको र थप अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकसँग भोल्टे रोमिङ विस्तार गर्न परीक्षण गरिरहेको एनसेलले जनाएको छ ।

एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायत प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको छ ।

इन्बाउन्ड भोल्टे रोमिङका लागि एनसेलले एयरटेल र जियो (भारत), चाइना मोबाइल (चीन), ओरेडु (कुवेत), मोबिली (साउदी अरेब), एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम) का ग्राहकलाई भोल्टे रोमिङ सेवा दिँदै आएको छ।

एनसेलले ग्राहकलाई देश बाहिर जहाँ गए पनि उनीहरूका परिवारजन, साथीभाइ र व्यवसायसँग सधैं कनेक्टेड रहन विश्वव्यापी रोमिङ नेटवर्क विस्तार गर्दै आइरहेको जनाएको छ ।


ताजा खबर