उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो ।

महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमवारको कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिनुभयो । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने बताइएको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर आफूले गएको निर्वाचनकै बेला विधान संशोधनको वाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेकामा उहाँले समितिलाई धन्यवाद दिनुभयो ।

संशोधित विधानमा दुई जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छ भने हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्ष रहने प्रावधान राखिएको छ ।

संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने अध्यक्ष ढकालले जानकारी दिनुभयो । रासस


ताजा खबर