दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

पहिलो सेमिफाइनल खेलमा बिहीबार बिहान दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा सहजै पूरा गरेको छ।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले २९, एडेन मारक्रमले २३ र क्विन्टन डीककले पाँच रन बनाए। अफगानिस्तानका लागि फजलहक फारूकीले एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले राम्रो शुरूआत गर्न सकेन। पहिलो ओभरमै रहमानउल्लाह गुरबाजलाई गुमाएको अफगानिस्तानका लगातार विकट झर्दै गए। कुनै पनि ब्याटरले दक्षिण अफ्रिकी बलरसामु टिकेर खेल्न सकेनन्।

अफगानिस्तानका लागि अजमातुल्लाह उमरजाईले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। जसले गर्दा अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटियो।

दक्षिण अफ्रिकाका लागि मार्को जानसेन र तबरेज शम्सीले तीन-तीन तथा कागिसो रबाडा र एनरिच नार्टेले दुई-दुई विकेट लिए।

रासस


ताजा खबर