अकोराबलाई ‘मिडिया च्याम्पियन’ उपाधि

संयुक्त राष्ट्रसंघको सूचना तथा सञ्चार प्रविधि सम्बन्धी विशेष निकाय इन्टरन्याशनल टेलिकम्युनिकेशन युनियन (आईटीयू)ले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाललाई ‘मिडिया च्याम्पियन’ उपाधि प्रदान गरेको छ।

आईटीयूले प्रदान गर्ने डब्लूएसआईएस-२०२४ अन्तर्गत अकोराबले मिडिया विधामा उपाधि पाएको हो। स्वीट्जरल्यान्डको जेनेभामा शुक्रबार आयोजित विशेष कार्यक्रममा अकोराबका कार्यकारी निर्देशक प्रमोद तण्डुकारले च्याम्पियनको प्रमाणपत्र ग्रहण गरेका छन्।

आईटीयूले सूचना तथा सञ्चार प्रविधिलाई उपयोग गरी दिगो विकासका लक्ष्य हासिल गर्न विश्वभरि गरिएका पहलमध्ये उत्कृष्टलाई सन् २०१२ देखि यो सम्मान प्रदान गर्दै आएको छ।

२०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प गएपछि अकोराबले यूएनडीपी र युनेस्कोको सहयोगमा जाजरकोट र रुकुम पश्चिमका स्थानीय सामुदायिक रेडियो तथा अन्य सञ्चारमाध्यमका पत्रकार र कर्मचारीको मनोबल बढाउने, क्षति पुगेका रेडियोलाई पुनःसञ्चालन गर्ने, भूकम्पपश्चात् खेल्नुपर्ने भूमिकाको क्षमता बढाउने, वञ्चितीकरणमा परेका र अन्य स्थानीय समुदायलाई सूचना प्रवाह र राहत वितरण तथा स्थानीय सरकारको सेवा प्रदान गर्न सहजीकरण गरेको थियो।

एकीकृत रूपमा सञ्चालित यस परियोजनाले विपद्को समयमा सामुदायिक रेडियोको महत्त्व दर्शाउनुका साथै भविष्यमा विपद्‌पश्चात् रेडियोले खेल्नुपर्ने भूमिकालाई उदाहरणका रूपमा स्थापित गरेको अकोराबका कार्यकारी निर्देशक तण्डुकारले बताए। यो सम्मानले सामुदायिक रेडियोलाई थप हौसला मिलेको उनको भनाइ थियो।

स्थानीय सामुदायिक रेडियोले भूकम्पपश्चात् हुन सक्ने र भएका नकारात्मक क्रियाकलापलाई निस्तेज गर्न खेलेको सक्रिय भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा सम्मान मिलेको अकोराबका अध्यक्ष अर्जुन गिरीको भनाइ छ। रासस


ताजा खबर