टी-२० विश्वकपः नेपाललाई बङ्गलादेशद्वारा १०७ को लक्ष्य

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बने टी-२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी 

बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अलआउट भयो ।

नेपाललको बलिङसामु बंगलादेशका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अनुभवी अलराण्डर सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।

ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुआत गरे । सर्ट बल ठूलो सट खेल्ने धुनमा तान्जिद हसन कट एण्ड बोल्ड आउट भएका हुन् । अन्तिम बलमा लिटन दासलाई अम्पायरले शून्यमा एलबीडब्लू आउट दिएका थिए । तर रिभ्युको कारण दास बच्न पुगे ।

अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे । सोमपालको पाँचौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा लिटन दास एज लागेर विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भएका थिए ।

कप्तान रोहित पौडेलले तौव्हीद ह्दोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराएपछि बंगलादेश ५.४ ओभरमा ३०-४ को दयनीय अवस्थामा पुगेको थियो ।

अनुभवी ब्याटर महमुदूल्लाह रियाद १३ रनमा रन आउट भए । रोहितको बलमा सकिब अल हसन एलबीडब्लू आउट भएपछि बंगलादेश ११.४ ओभरमा ६१-६ को दयनीय अवस्थामा पुगेको थियो । त्यसपछि पनि बंगलादेशले निरन्तर विकेट गुमायो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए । नेपालले हालसम्म टेस्ट टोलीलाई हराएको छैन ।

यसैवीच बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा रेका छन् । उनले चार ओभरमा १७ रन खर्चिएर विकेट लिएका हुन् ।

सात महिना पछि पुन: मैदानमा फर्किएका सन्दीपले यसअघि दक्षिण अफ्रिकासँग विश्वकपको पहिलो खेल खेलेका थिए । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उनले अमेरिकामा भएको विश्वकपको खेल  गुमाउनु परेको थियो ।


ताजा खबर