अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन पूर्ण अभ्यास गरियो

विमान दुर्घटना भएमा के गर्ने भन्ने विषयमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन पूर्ण अभ्यास गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन पूर्वअभ्यास गरिएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाल सङ्कटकालीन अवस्था वा दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउने र छिटोभन्दा छिटो विमानस्थलको सञ्चालन गराउने सम्बन्धमा सचेतना र सतर्कता अभिवृद्धिका लागि अभ्यास गराइएको बताउनुभयो । यस कार्यले सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोग अभिवृद्धि, सहभागी निकायहरूले निर्वाह गने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराउन भूमिका खेल्ने उहाँको भनाई छ ।

यसैगरी अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लोका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल सङ्कटकालीन योजनाअनुसार गरिने अभ्यासमध्ये विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको प्रवक्ता झाले बताउनुभयो ।

यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा यस विमानस्थलको ‘एयरपोर्ट इमर्जेन्सी प्लान’अनुसार गरिने योजनाबद्ध अभ्यास भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । विमानस्थल सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने आइकाओको मापदण्ड तथा यस विमानस्थलको सङ्कटकालीन योजनाअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उहाँले बताउनुभयो ।

विमानस्थल धावनमार्गको पूर्वपट्टि चौरमा डेमो विमानमा दुर्घटनापछि यात्रु तथा चालकको उद्धारसम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो । अभ्यासका क्रममा पाँचवटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा ‘होल्ड’ भएका थिए । उक्त अभ्यासको अवलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी, सुरक्षाकर्मीलगायत अधिकारीहरूको उपस्थिति थियो । रासस


ताजा खबर