प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मुलुक भारतको भ्रमणमा जानुहुने भएको छ । उहाँ भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र दामोदार मोदीको शपथग्रहणमा सहभागी हुन त्यसतर्फ जान लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड आइतबार नेपालबाट नयाँ दिल्ली प्रस्थान गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबार आयोजना हुने शपथग्रहण समारोहमा सहभागी भएपछि उहाँले भारतका प्रधानमन्त्री मोदीसँग छुट्टै भेट गर्नु हुने कार्यक्रम रहेको छ । भारतका प्रधानमन्त्री मोदीको यो तेस्रो कार्यकालको शपथग्रहण हो ।

भारतमा तेस्रो पटक प्रधानमन्त्री  हुने सुनिश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले टेलिफोनमार्फत मोदीलाई बधाई दिनुभएको थियो । साथै मोदीले शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गर्नुभएको थियो । त्यसलगत्तै गत बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो । यसैबिच प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डका साथमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, सरकारका उच्चाधिकारी र उहाँकी सुपुत्री गङ्गा दाहाल भ्रमणमा जानुहुने छ । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस


ताजा खबर