भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री भारत जानुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन भारत जानुहुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले हेटौडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री शर्माले बताउनुभयो । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेज बहादुर राईलाई नियुक्त गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकमा मनसुन सुरु भएपछि उत्पन्न हुनसक्ने विषम परिस्थितिसँग जुध्न सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्नेबारे समेत छलफल भएको मन्त्री शर्माले बताउनुभयो । रासस


ताजा खबर