लोकसभा चुनाव परिणाम: आधाभन्दा बढी सिटमा एनडिए अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाँच सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) दुई सय ९९ सिटमा अगाडि रहेको निर्वाचन आयोगले जानकारी गराएको छ।

त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले दुई सय २६ सिटमा अग्रता हासिल गरिरहेको छ र अन्य १८  सिटमा अगाडि रहेका छन् ।

काङ्ग्रेस ९२ सिटमा, समाजवादी पार्टी ३४  सिटमा, द्रविड मुन्नेत्र कड़गम (डिएमके) २१ सिटमा, तृणमूल काङ्ग्रेस ३० सिटमा, शिवसेना (उद्धव ठाकरे) १० सिटमा, एनसीपी (सपा) आठ सिटमा, माकपा पाँच सिटमा र आम आदमी पार्टी तीन सिटमा अगाडि छन् । राहुल गान्धी र प्रधानमन्त्री नरेन्द्र मोदी दुवै आफ्नो निर्वाचन क्षेत्र क्रमशः राय–बरेली र बनारसमा अगाडि हुनुहुन्छ। राहुल गान्धी वायनाडमा पनि अग्रतामा रहनुभएको छ ।

उत्तर प्रदेशमा भाजपा ३५ सिटमा अगाडि छ । यसको साझेदार पार्टी राष्ट्रिय लोक दल (आरएलडी) दुई सिटमा अगाडि छ भने समाजवादी पार्टी ३४  सिटमा अगाडि रहेको छ।

छ हप्ताको अवधिमा सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए । आन्ध्र प्रदेशको १ सय ७५  विधानसभा निर्वाचन क्षेत्र र ओडिसाका एक सय ४७ विधानसभा निर्वाचन क्षेत्रहरूमा पनि मतगणना सुरु भइसकेको छ । रासस


ताजा खबर