नेपालगञ्जको अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री पुग्यो

 नेपालगञ्जमा अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताउनुभयो । उहाँका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।

यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।

काठमाडौँ र पोखरामासमेत तापक्रम बढिरहेको छ । पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस


ताजा खबर