सगरमाथाको चुचुरोमा पुगेर फर्किंदा हराए दुई आरोही

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्किएका दुई आरोही हराएका छन्।

सगरमाथा चुचुरोबाट फर्कने क्रममा मंगलबार संखुवासभाको मकालु गाउँपालिका-२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन हराएको पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले बताए। चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार ७५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना हराएको भुजेलले जानकारी दिए।

दुवै जनाले जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालले जनाएका छन्।

शेर्पा र पिटरसन यस वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि गत चैत २२ गते एटके एक्सपिडिशन प्रालि मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए। दुवै जना सगरमाथा आरोहण गर्न आधारशिविरबाट गत शुक्रबार दोस्रो आधारशिविर हुँदै शिखरतर्फ प्रस्थान गरेको पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ।

हराइरहेका दुवै जनाको खोजी गर्न ६ जना अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले जनाएको छ। उनीहरूको खोजीमा सहयोग गर्न पनि विभागले अनुरोध गरेको छ। रासस


ताजा खबर