सर्लाहीमा पूर्व-पश्चिम रेलमार्गको ९० प्रतिशत काम सकियो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ ।

पूर्व-पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिनुभयो ।

यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो । परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर यादवले बताउनुभयो ।

चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उहाँको भनाइ छ । यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ ।

हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन् । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।

वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताउनुभयो । आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो ।

यस योजनाको आर्थिक वर्ष २०७४-७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो । पछिल्लो समय बजेट अभावले समेत कामको गति सुस्त बनेको उहाँको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ । रासस


ताजा खबर