भक्तपुरको सांस्कृतिक उत्सव बिस्काः जात्रा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न

भक्तपुरको सबैभन्दा ठुलो सांस्कृतिक उत्सव बिस्काः जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा धुमधामसँग मनाइएको छ । यस वर्ष सुजन बाग श्रेष्ठले दोस्रो पटक आफ्नो जिब्रो छेडाएर यो परम्परालाई निरन्तरता दिनुभयो ।

योभन्दा पहिला उहाँका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आउनुभएको थियो । चैत मसान्तका दिन महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि सुरु हुने जात्रामा श्रेष्ठ समुदायका व्यक्तिले जिब्रो छेड्ने प्रचलन अनुसार यो पटक २८ वर्षका सुजन बाग श्रेष्ठले जिब्रो छेड्नुभएको हो ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्ने परम्परा रहेको छ । त्यसो गर्दा जिब्रोको स्वाद हराउने र जिब्रो नरम हुन्छ भन्ने मान्यता छ । जिब्रो छेड्न भनेर बोडेको लाकुछेँका नकर्मीहरूले वर्षौंदेखि फलामे नटुचा (मूल सुइरो) बनाउँदै आएका छन् । नकर्मीको घरमा तेलमा डुबाएर राखिएको यो नटुचाले आइतबार श्रेष्ठको जिब्रोमा छेडेको हो ।

व्रत अवधिभर जिब्रो छेड्ने व्यक्तिले खाना खान नहुने, आइमाई छुन नहुने, जुठो, सुतक परेका मान्छेलाई छुन तथा बोल्न नहुने र कुकुरलगायतका जनावरलाई समेत छुन नहुने परम्परा रहेको छ । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा कुनै प्रकारको औषधी लगाउनु नपर्ने स्थानीय गणेशराम लाछीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “किंवदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलवाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा) ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । त्यसपछि उनले एक महिना कसैलाई पनि खेतमा काम गर्न नजान अनुरोध गरेपछि त्यो ख्याक नीलवाराहीको आँगनबाट खेतमा हेर्दा कसैलाई नदेखेपछि बोडेभित्र पस्न खोजेको थियो । बोडे देशमा रहेको चार दिशाका प्रवेशद्वारमध्ये पश्चिमतर्फको ढोकाबाट पस्न खोज्ने एउटा ख्याक तान्त्रिक भीमदत्तको पासोमा परेको भन्ने भनाइ छ । भीमदत्तले डरलाग्दो पिशाच नीलवाराहीको दाहिने पाले भएको थाहा पाएपछि लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी बाँधिदिएको किंवदन्ती रहेको छ ।

बोडे देशमा दुःख नदिने, रोग, अनिकाल, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई पिशाचलाई छाडिदिएको किंवदन्ती रहेको छ । वाचा अनुरूप सात पटकसम्म पिशाचको जिब्रो छेडियो र त्यसपछि ऊ नआउने भएपछि भीमदत्त कर्माचार्यले सोही अनुरूप बोडेवासीबाटै जिब्रो छेड्ने परम्परा बसालेका हुन् ।

यसै गरी भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार बिहान हर्षोल्लासका साथ सिन्दूर जात्रा अर्थात् सुथःसिया जात्रा मनाएका छन् । जात्रामा केटाकेटीदेखि वृद्धवृद्धाको समेत सहभागिता रहेको थियो । बिस्काः जात्राका अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूरे जात्रा प्रसिद्ध मानिन्छ । नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमिमा चलन अनुसार एकआपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाउने गरिन्छ ।

सिन्दूर जात्रा मध्यपुर थिमिको सबैभन्दा ठुलो जात्रा हो । जात्रामा थिमि क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट नौ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने गरिन्छ  ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोल टोलमा सिन्दूर खेल्दै जात्रा मनाइन्छ । रासस


ताजा खबर