नयाँ वर्ष २०८१ शुरु : शुभकामना आदानप्रदान गरी मनाइँदै

नयाँ वर्ष २०८१ आजदेखि सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज देश-विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाउँदै छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने चलन पनि छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर वा आफ्नो आस्था अनुरुपको धार्मिक स्थलमा जाने, घर सफा गर्ने, मिठो-मिठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो । मल्ल कालदेखि नेपालमा मौलिक संवतका रूपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । भारतमा सरकारी संवत् शक सम्वत भए पनि व्यवहारमा इस्वी संवत् चलेको छ । रासस


ताजा खबर