एसिसी प्रिमियर कपको पहिलो खेल नेपालले जित्यो

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्‍यो ।

नेपालका लागि आशिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ तथा सन्दीप जोराले अविजित १२ रन बनाए ।

blog

बलिङतर्फ मलेसियाका कप्तान विरनदीप सिंहले तीन तथा पवनदीप सिंह र मोहमद वाफिकले एक एक विकेट लिए ।

यसअघि एक सय ४३ रनको योगफल बनाउने क्रममा मलेसियाका लागि कप्तान विरनदीप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने ।

यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए ।

नेपालले अब आफ्नो दोस्रो खेल आगामी वैशाख १ गते कतारसँग खेल्ने छ ।


ताजा खबर