बागमती नगरपालिकाका प्रमुख थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रमुख थापाले गैरकानुनीरुपमा ५ करोड ३३ लाख भन्दा बढी रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा

नगर प्रमुख थापाले विसं २०७४ असोजदेखि विसं २०७९ माघसम्ममा सात करोड ८६ लाख ५० हजार अवैध तरिकाले कूल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० लाख बढी रकम लगानी तथा खर्च गरेको अख्तियारको भनाइ छ ।

यसैगरी आयोगले नगर प्रमुख थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइ बुहारी द्वारिका राउतका नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, शेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानीमा भ्रष्टाचार गरेको रकम खर्च भएको उल्लेख गरेको छ ।

यस्तै, अख्तियारले आजै सदाशिव प्राथमिक विद्यालय, कास्कीकोट, कास्कीका तत्कालीन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी सहित दुई जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।

प्रधानाध्यापक सुवेदी र  तत्कालीन लेखा परीक्षक कृष्ण प्रसाद गौतम विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा ३ लाख ७७ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


ताजा खबर