गुजरातलाई हराउँदै नेपाल मैत्रीपूर्ण क्रिकेटको फाइनलमा

भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो ।

गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा आज भएको लिगको चौथो खेलमा गुजरातले टस जितेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो । एक सय ८२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा गुजरातले  निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गर्ने क्रममा नेपालको सुरुआत उत्कृष्ट रह्यो । दुवै ओनपरले पहिलो विकेटका लागि एक सय २५ रनको साझेदारी गरे । पहिलो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए । अर्का ओपनर मोहम्मद आशिफ शेखले ८५ रनको योगदान दिए । उनले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गरे । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।

कप्तान रोहितकुमार पौडेलले तीन, सन्दीप जोराले दुई, कुशल मल्लले एक, गुलशन झाले चार, विवेक यादवले सात तथा प्रतीस जिसीले अविजित चार रन बनाए ।

बलिङतर्फ गुजरातका लागि जयमित पटेलले तीन तथा आर्या देसाइ र ध्रुशान्त सोनीले दुई दुई विकेट लिए ।

गुजरातका लागि ब्याटिङ गर्ने क्रममा उमङ्ग तन्डेलले ४७ रनको योगदान दिए । हर्ष देसाइले अविजित २९ रन बनाए । अभिषेक देसाइले २० तथा स्मित पटेलले १९ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले दुई दुई तथा विवेक यादवले एक विकेट लिए ।  नेपालले अर्को खेल शुक्रबार बरोडासँग खेल्नेछ । रासस


ताजा खबर