अन्नपूर्ण धौलागिरि पदमार्ग पर्यटकको रोजाईमा

हिमाली जिल्ला म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग पर्यटकको रोजाईमा पर्न थालेका छ । यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ ।

उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो ।

कोभिडपछि सुनसान जस्तै बनेको यो पदमार्गमा अघिल्लो सिजनदेखि विदेशी पर्यटक आउन थालेको पदमार्गका संयोजक चित्र तिलिजा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार २०२३ मा २५० भन्दा बढी विदेशी पर्यटक भ्रमण आएका थिए । ‘अहिले सिजन सुरु भए संगै एक सय भन्दा बढी पर्यटक आईसकेका छन्, उहाँले भन्नुभयो–अहिले पनि अमेरीका स्थित सान्ता कलरा युर्निभसीटीका विद्यार्थी प्राध्यापक गरी १३ जनाको टोली छ म उहाँहरु संगै छु ।’

केही बर्षअघि स्थानीयवासीको सक्रियतामा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धनका साथै सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पदमार्ग सञ्चालन गरिएको थियोे । पछिल्लो समय पदमार्ग क्षेत्रमा होमस्टे र होटलहरु निर्माणहरु भएपनि पदमार्गमा पुग्ने पर्यटकका लागि सहज भएको छ ।

पर्यटन व्यवसायी पुनका अनुसार स्वीजरल्याण्ड, स्पेन, फ्रान्स, कोस्टारीका, अमेरिका, डेनमार्क, नर्वे, ब्राजिल, जर्मन, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापान, रसिया, हल्याण्ड, इङ्ल्याण्ड, भारत, इटली, इजरायल र स्कटल्याण्डका पर्यटक यो पदमार्ग भ्रमणमा आएका छन् ।

मनोरम ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृंखलाको अवलोकन, एकान्त तथा शान्त स्थल भएकाले प्रकृतिप्रेमी पर्यटकले यो पदमार्गलाई रुचाएका हुन् ।

म्याग्दीको घुमाउने तालबाट पाँचदेखि सात दिनमा भ्रमण गर्न सकिने यस पदमार्गले पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नाँगी, मोहरेडाँडा, डाँडाखर्क, हिस्तानको टिकोट र घारको खिवाङ गाउँलाई समेटेको छ ।

पदमार्ग अन्तर्गत बाँसखर्क, हिस्तानको टिकोट र खिवाङमा करिब ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको छ । बाँसखर्क, डाँडाकटेरी, टिकोट, खिवाङमा डाइनिङ हल तथा नागी र मोहरेडाँडामा सामुदायिक लज सञ्चालन गरिएको छ । रासस


ताजा खबर