वैशाख महिनाभरि पोखराका होटलमा २० प्रतिशत छुट

नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने फेवा नव वर्ष महोत्सव २०८१ को अवसरमा पोखराका होटलमा २० प्रतिशत छुटको व्यवस्था वैशाख महिना भरी लागु हुने भएको छ ।

होटल संघ पोखरा नेपालले पर्यटनको राजधानी पोखरामा आयोजना गर्ने १९ औँ संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ को तयारीको बारेमा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त छुटको बारेमा जानकारी गराएको हो ।

यस अघि सङ्घले महोत्सवको अवसरमा मात्र घोषणा गरे पनि सङ्घले सङ्घमा आबद्ध पोखरा क्षेत्रका ४ सय २५ वटा पर्यटकीय स्तरका होटलहरुमा २० प्रतिशत छुट हुने भएको महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । होटलहरुको प्रकाशित दररेटमा उक्त छुटको व्यवस्था हुने यदि कसैले छुट दिन नमानेमा सिधै सङ्घमा सम्पर्क गर्न समेत संयोजकले आग्रह गर्नु भएको छ ।

पोखरामा हाल होटल अकुपेन्सि ५० देखि ६० प्रतिशत रहेको सङ्घले जनाएको छ । उक्त महोत्सवमा ९० देखि शतप्रतिशत होटल अकुपेन्सि पुर्‍याउने लक्ष्य राखिएको संयोजक सुवेदीले जनाउनु भयो ।

३ दिन चल्ने महोत्सवमा दर्शक सहित ३ लाख पर्यटक भित्राउने आफूहरूले लक्ष्य राखेको संयोजक सुवेदीले जनाउनु भयो । सङ्घले विगत दुई दशक अघिदेखि नेपाली नयाँ वर्षको अवसरमा “पर्यटन, संस्कृति र खाना” भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि महोत्सवका माध्यमबाट उत्तिकै धुमधामका साथ मनाउने तयारी सङ्घले अगाडी बढाएको हो ।

कोभिड–१९ पश्चात् पूर्ववत् अवस्थामा फर्कन नसकेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै महोत्सवका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ । महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरूको उजागर गर्दै प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले बताउनु भयो ।

पोखरामा  हाल भारतीय पर्यटक उत्साहजनक सहभागी रहेको संयोजक सुवेदीले दाबी गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेलले पोखरामा हाल भारतीय र चाइनिज पर्यटकको सङ्ख्यामा गत वर्ष भन्दा बढी भित्रिएको दाबी गर्नु भयो । आर्थिक गतिविधिको लागि पनि नेपाल पर्यटन बोर्डले सङ्घसँग सहकार्य गरेको उहाँको भनाई थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनायण श्रेष्ठले पोखरामा हिजोआज भारतबाट करिब १५० वटा सवारी साधनमा पर्यटक भित्रिएको दाबी गर्दै महोत्सवमा दोब्बरको सङ्ख्यामा वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले महोत्सव अवधिमा ३ लाख दर्शक सहित पर्यटक भित्र्याउने दाबी गर्नु भयो ।

पूर्व अध्यक्ष विकल तुलाचनले कोभिडले २ बर्ष  स्थगित भएको महोत्सव यसबर्ष भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको बताउनु भयो । पोखरा महानगरपालिका र  नेपाल पर्यटन बोर्ड महोत्सवको प्रबद्र्धनको रुपमा रहेका छन्। महोत्सव पोखराको ड्यामसाइड देखि लेकसाइड क्षेत्रको करिब साँढे ३ किलोमिटर क्षेत्रमा महोत्सव हर्ष र उल्लासका साथमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको हो ।  रासस


ताजा खबर