फोहरमैला सङ्कटसँग जुध्न विश्वव्यापी कदम चाल्न आह्वान

फोहरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गर्नुभएको छ ।

हरेक वर्ष मार्च ३० मा मनाइने अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि एक भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पृथ्वीको खतरनाक अवस्थाबारे आफ्नो राय व्यक्त गर्नुभएको हो ।

“मानव जातिको अत्यधिक उपभोग र फोहोर उत्पादनका कारण वातावरणीय क्षयको डरलाग्दो चित्र कोर्दै पृथ्वी फोहोरको बाढीमा डुबेको छ,” गुटेर्रेसले भन्नुभयो ।

हरेक वर्ष ‘दुई अर्ब टनभन्दा बढी ठोस फोहोर’ नगरीय क्षेत्रबाट उत्पादन हुँदा यसको परिणाम पृथ्वीको जलवायु, पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यको लागि विनाशकारी छ ।

उहाँले अति उपभोगलाई सम्बोधन गर्ने तात्कालिकतामा जोड दिँदै भन्नुभयो, “अत्यधिक उपभोगले हामीलाई विनाशतर्फ लगिरहेको छ । मानव गतिविधिमा हस्तक्षेपको खाँचो छ ।”

महासचिव गुटेर्रेसले शून्य फोहोरसम्बन्धी सल्लाहकार समितिको प्रयासको प्रशंसा गर्दै शून्य फोहोर प्राप्त गर्ने मिसनमा विभिन्न सरोकारवालाहरूलाई एकताबद्ध गर्न भूमिका खेलेकोमा समितिको प्रशंसा गर्नुभयो ।

यस सङ्कटसँग जुध्न संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले बहुआयामिक दृष्टिकोणको खाका प्रस्तुत गरेका छन् । “व्यवसायहरूले फजुल प्याकेजिङ कम गर्न र दीर्घायु र जीवनचक्रलाई अधिकतम गर्न आफ्ना उत्पादनहरूमा पुनर्विचार गर्नुपर्दछ,” दिगो उत्पादन अभ्यासहरूतर्फ परिवर्तन गर्न आग्रह गदै उहाँले भन्नुभयो ।

उपभोक्ताहरूलाई ‘आफूले किनेका सामान र उत्पादनहरूको बारेमा दुई पटक सोच्न र सम्भव भएसम्म रिसाइकल वा पुनः प्रयोग गर्न’ पनि आग्रह गरिएको छ ।

गुटेर्रेसले चक्रीय अर्थव्यवस्थालाई बढावा दिन सरकारी कार्यको महत्वमा जोड दिनुभयो चक्रीय अर्थव्यवस्थाले ‘पुनः प्रयोग, पुनः निर्माण, पुनरुत्थान र अपशिष्ट रोकथाम’ लाई प्राथमिकता दिन्छ ।

उहाँले स्रोतको ह्रासको प्रभावलाई उल्लेखनीय रूपमा कम गर्न सकिने आधुनिक फोहरमैला व्यवस्थापन कार्यक्रमको खाँचो औँल्याउनुभयो ।

“यो शून्य फोहोर दिवसमा, फोहोरको विनाशकारी चक्रलाई सदाका लागि अन्त्य गर्ने प्रतिज्ञा गरौं”, उहाँले भन्नुभयो, “हामी विश्वभरका नागरिकहरूलाई भावी पुस्ताका लागि पृथ्वीको रक्षा गर्ने दिगो अभ्यासहरूमा प्रतिबद्ध हुन आग्रह गर्दछौं ।

सन् २०२२ डिसेम्बर १४ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो ७७ औं अधिवेशनमा मार्च ३० लाई अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो । सिन्ह्वा


ताजा खबर