‘त्रासभित्रको आशहरु’

~डा.प्रज्ञा अधिकारी

अवाक् छु म, हेर्दा हेर्दै जिन्दगीका खेलहरु
याद गर्ने क्रममा भिजिजान्छन् यी परेलाहरु
हाँसो छरिएको ओठसँगै बितेका ती प्रहरहरु
अविश्वसनीय लाग्छन् अहिले ती सम्झनाका लहरहरु।

हरेक बिहान उठेर पूरा गर्छु भनिएका प्रणहरु
आफ्नो लक्ष्य पूरा गर्न तत्पर उत्साहित मनहरु
अवश्य पनि साकार पार्छु भन्ने हरेकका सपना
अचानक साक्षात्कार हुनुपर्दा कहाली लाग्दा बिपना।

अनुत्तरित प्रश्न हरेकका मनमा उठिरहेको समय
एक एक गर्दागर्दै भाँसिदै छ जीवनरुपी लय
जसरी पनि गर्नैपर्छ यो विषम परिस्थितिको सामना
अन्याय बिरुद्ध लड्न सकियोस यही सबको कामना।

आफ्नो लक्ष्यसम्म पुग्न साटिएका रहरहरु
जसरी पनि भोग्नु परेका प्रकृतिका विनाशी कहरहरु
अनगिन्ति आँखामा आउने सपनाका भारहरु
जितका हजारौं सम्भावना बोकेका अकस्मात् हारहरु।

मैं हुँ भन्दै गरिएका घमण्डयुक्त मानव ढाँचाहरु
संकल्प गरिए पनि निभाउन नसकिएका वाचाहरु
हाँसिरहेका ओठ र उपङ्गमय आँखाका चित्र
संसारमा फेरि सुरुवात गर्न कर्मशील बन्नुपर्छ मित्र।

सुक्ष्म एउटा जिवाणुले मच्चाएको हाहाकार यो
लाग्छ अव आयो समय मानव संहारको
यस्तो गर्छु, उस्तो गर्छु भन्ने सोच्ने मानिस न हो
प्रकृति हो निर्णयकर्ता यो जीवन अनि संसारको।

प्रकृतिको अनुपम उपहार हो यो मानव जीवन
उर्जाशील बनौ राखौ आत्मविश्वासी मन
अवश्य पनि जित हुनेछ यही चाहना अन्तर्निहित
स्वतन्त्र भई रम्न पाइयोस यही आशामा जीवित।

मुस्कुराइरहेका ओठहरु अनि तरङ्गित हाम्रा मन
दुखमा नै सुख खोज्छौ भई आशावादी झन झन्
जस्तोसुकै चुनौती आओस डटेर गर्नेछौ सामना
बाँचौ र बचाऔ सबै मिली हाम्रो यही छ चाहाना।।

डा.अधिकारी काठमाडौं चावहिलस्थित ॐ हस्पिटलमा कार्यरत हुनुहुन्छ ।

ताजा खबर