दुर्लभ वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ। निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।

‘हेड काउन्ट’ र ‘ट्रान्जिट लाइन’ गरी दुई विधिबाट अनुगमन तथा गणना भइरहेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताउनु भएको छ। उहाँका अनुसार निकुञ्जमा एक दशक अघिदेखि वन्यजन्तु सप्ताहको अवसर पारेर बाह्रसिङ्गाको गणना हुँदै आएको छ।  हेडकाउन्टका लागि प्रत्यक्ष रुपमा अवलोकन तथा वाइनाकुलर र टेलिस्कोपको प्रयोग गरी अनुगमन भइरहेको उहाँको भनाइ छ।

बाह्रसिङ्गाको अनुगमनका लागि शुक्लाफाँट, करैया, लालपानी, भतपुरी फाँटा छनौट गरिएको छ। योसँगै घाँसेमैदान रहेको फायरलाइनहरुमा पनि अनुगमन हुने निकुञ्जका सूचना अधिकारी ऐरले बताउनु भयो । बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्डको बासस्थान निकुञ्जको शुक्लाफाँट घाँसे मैदानमा रहेको भन्दै उक्त मैदान ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उनले जानकारी दिए ।

सो मैदानमा एक हजार पाँच सय बढी बाह्रसिङ्गाको झुण्ड एकै ठाउँमा रहेको ऐरले बताउनु भयो । उहाँका अनुसार ट्रान्जिट लाइन विधिबाट अनुगमनका लागि जेडएसएल नामक संस्थाले सहयोग गरिरहेको छ। रासस


ताजा खबर