उपचारविना फर्कनुपर्ने अवस्था अन्त्य गर्न निर्देशन

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ ।

उहाँले अनुगमनका क्रममा उपचारका लागि कान्ति बाल अस्पताल आएका कोही पनि बिरामी शय्या नपाएर उपचारविना नै घर फर्कनुपर्ने अवस्थामा अन्त्य गर्न निर्देशन दिनुभयो ।

“अस्पतालमा आएका बिरामी शय्या नपाएर अन्त्यै निजी अस्पतालमा उपचारमा जाने गरेको गुनासो सुन्नमा आएको छ”, मन्त्री यादवले भन्नुभयो, “अस्पतालले शय्या थपेर हुन्छ के के गरेर हुन्छ अस्पताल आएका बिरामी उपचारबाट वञ्चित हुन परेको खबर सुन्न नपरोस् । उपचार गर्न आएका सबैको उपचारको व्यवस्था मिलाउनुहोस् ।”

उहाँले अस्पतालको शय्या, सघन उपचार कक्ष (आइसियु) थपेर उपचार गर्न आएका बिरामीको उपचार गर्नुपर्ने भन्दै मन्त्रालयले अस्पताललाई के सहयोग गर्नुपर्दछ त्यो तयार रहेको बताउनुभयो ।

यस्तै मन्त्री यादवले अस्पतालको सेवालाई डिजटाइजेशन गर्न निर्देशन दिनुभयो । “कुनै बिरामी टिकट काट्न र चिकित्सकलाई रिपोर्ट देखाउन घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “अब टिकट मात्र होइन परीक्षणको रिपोर्ट पनि अनलाइनबाट चिकित्सकले हेर्नुपर्ने व्यवस्था गर्नुपर्दछ ।”

अनुगमनका क्रममा मन्त्री यादवले अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पर्याप्त मात्रामा औषधि नभएको पाइएको भन्दै आवश्यक मात्रामा औषधि राख्न निर्देशन दिनुभयो । “चिकित्सकले प्रिस्क्रिप्सनमा लेखेको औषधि अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पर्याप्त मात्रामा छैनन् । उहाँले भन्नुभयो, जसले गर्दा बिरामी निजी औषधि पसलमा जाने गर्दछन् र बिरामी ठगिने गर्दछन् ।” उहाँले भन्नुभयो ।

यसैगरी अस्पतालमा रहेका स्वास्थ्य सामग्री उपकरणलाई मर्मत गरी  सञ्चालन गर्न पनि मन्त्री यादवले निर्देशन दिनुभयो । अनुगमनका क्रममा मन्त्री यादवसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो । सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा पङ्कज रायले अस्पतालको बारेमा जानकारी गराउनुभएको थियो । रासस


ताजा खबर