ऊर्जा क्षेत्रमा लगानी बढाउन एआइआइबीलाई आग्रह

नेपाल विद्युत् प्राधिकरणले नेपालको ऊर्जा क्षेत्रलाई अझै गतिशील र तीव्र विकास गर्न विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तार कार्यमा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) लाई आग्रह गरेको छ ।

एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायक नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलसँग  भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गर्नुभएको हो ।

नेपालको ऊर्जा क्षेत्रको रूपरेखा तथा लगानी आवश्यकतासम्बन्धी जानकारी गराउँदै कार्यकारी निर्देशक घिसिङले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठुलो लगानी आवश्यक रहेको बताउनुभयो ।

“ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाका लागि झन्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाईसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबी जस्ता बहुपक्षीय निकायबाट सस्तो ब्याजदरमा सहुलियतपूर्ण ऋण आवश्यक छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चितता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात वृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनीकरणका लागि जलाशययुक्त आयोजनाको निर्माण, वितरण तथा प्रसारण सञ्चाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिमण्डलले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैङ्क इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डलबाट हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाहरूको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरू, ऊर्जा क्षेत्रको पुनर्संरचना, विद्युत् निर्यातका लागि बजार सुनिश्चिततालगायतका विषयमा जिज्ञासा राखिएको थियो ।

एआइआइबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलियतपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । परियोजनामार्फत प्राप्त सहुलियतपूर्ण ऋण लुम्बिनी प्रदेशका  दाङ, बाँके, बर्दिया तथा रोल्पा र कर्णाली प्रदेशका आठ जिल्लाको विद्युतीकरण तथा वितरण प्रणाली विस्तार र सुधारमा खर्च गरिँदै छ ।

परियोजनाबाट १९ वटा ३३/११ केभी वितरण सबस्टेसन, ३५० किलोमिटर ३३ केभी लाइन, १७९८ किलोमिटर ११ केभी लाइन, ३१५९ किलोमिटर एलटी लाइन निर्माण र १०४५ वटा वितरण ट्रान्सफर्मर जडान गरिने छ । उक्त परियोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता र परियोजनाको डिजाइन सम्पन्न भइसकेका छन् ।

एआइआइबीले कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चार करोड डलर ऋण प्रवाह गरेको छ ।   रासस


ताजा खबर