श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गर्नुभएको छ ।

अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गर्नुभयो । उहाँले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

केही खराब मान्छेका कारण धेरै इमानदारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उहाँले खराबलाई बेलैमा चिनेर इमानदारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उहाँले प्रयास जारी राख्न अनुरोध गर्नुभयो । रासस


ताजा खबर