एमालेले इलाम २ मा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने

नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्बाङ

सुहाङ नेम्बाङ सोही क्षेत्रका एमाले नेता सुवास नेम्बाङका कान्छा छोरा हुनुहुन्छ । सुवासको मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

बझाङ १ प्रदेशसभामा दमनबहादुर भण्डारी उम्मेदवार बनाउने निर्णय « Drishti News – Nepalese News Portal

यसैगरी, बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यी दुवै क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको छ ।

यस्तै आजको बैठकपछि उपमहासचिव ज्ञवालीले नयाँ राजनीतिक सहकार्य भएपछि मुलुकमा केही मात्रामा आशाको सञ्चार भएको प्रतिक्रिया दिनुभएको छ ।

“हाम्रो पार्टी यस सरकार र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्ने, अवरुद्ध भएका विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देश राष्ट्रको हितको रक्षा र सम्वर्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको छ”, उहाँले भन्नुभयो ।

सरकारले पनि त्यही हिसाबले आफ्ना कामलाई अझ बढी चुस्त बनाई समस्या केन्द्रित गरी जनतामा भरोसा जगाउने गरी अगाडि बढोस् भनेर एमालेले शुभेच्छा व्यक्त गरेको पनि जानकारी दिनुभयो । सो बैठकले मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भर्त्सना पनि गरेको छ ।

बैठकले पार्टीका नेता ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । यसअघि महरले केन्द्रीय सदस्यबाट राजीनामा दिनुभएको थियो । उपमहासचिव ज्ञवालीले नेता महरले पार्टी निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पार्टीको विधानअनुसार उहाँलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको बताउनुभयो ।  रासस


ताजा खबर