विश्व क्षयरोग दिवस जनचेतनामुलक कार्यक्रम गरि मनाइँदै

नेपालमा एक वर्षमा थपिए ७० हजारभन्दा बढी बिरामी

आज विश्व क्षयरोग दिवस । नेपालमा पनि यो दिवस विविध जनचेतनामुलक कार्यक्रम गरि मनाउने गरिन्छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउदै आइएको छ ।

यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने तय गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिएपनि अझै पनि क्षय रोगका नयाँ विरामी थपिने क्रम भने बढ्दो छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ७० हजारभन्दा बढी बिरामी थपिएका छन् ।

क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेकाे छ । लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगकाे हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती देखिएको छ । रासस


ताजा खबर