बुद्ध जन्मस्थलबाट राजदूत वाणिज्यदूतहरुको विश्व शान्तिको अपील

सरकारले नीतिगत अवरोध हटाएर लगानीको बातावरण बनाएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

विश्वका २० मुलुकका राजदूत र ४५ देशका वाणिज्यदुतहरुले शुक्रबार गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्तिको लागि आह्वान गर्नु भएको छ ।

परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्य दुतहरुको संस्था अनररी कन्सुलर क्रप्स नेपाल (एचसीसीएन)ले संयुक्त रुपमा आयोजना गरेको लुम्बिनी कन्क्लेभमा उहाँहरुले शान्ति विना समृद्धि सम्भव नहुने भन्दै सबै देशलाई शान्तिका लागि आग्रह गर्नु भएको हो ।

विभिन्न देशबाट नेपाल आउनु भएको राजदुतहरुले लुम्बिनी परिसरमा विश्व शान्तिका लागि प्रार्थना समेत गर्नु भयो । कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले विकासलाई अगाडि बढाउन शान्तिको महत्वका बारेमा प्रकाश पार्नु भयो ।

उहाँले आजको समयमा बुद्धका सन्देशको महत्व झन् बढेर गएको बताउनु भयो । ‘भगवान बुद्धको उपदेश बुद्ध धर्म मान्नेहरुका लागि मात्र होइन सबै धर्म मान्नेका लागि उत्तिकै उपयोगी छ ।’ उहाँले भन्नु भयो ।

‘नेपालमा व्यापार व्यवसाय गर्ने धेरै क्षेत्रहरु छन् । यस्तो गर्न कुनै कानुन वा नीतिले अवरोध गरेको छ भने त्यसलाई पुनरावलोकन गर्न नेपाल सरकार तयार छ ।त्यो हटाउने काम भइरहेको छ।   हामी लगानीलाई प्रोत्साहन गर्न र आर्थिक विकासलाई गति दिन सरकारले लगानीकर्ताको सल्लाहसुझावलाई गम्भीर रुपमा लिइरहेको छ ।’

उहाँले सरकार परिवर्तन हुनु भनेको नीति परिवर्तन हुनु नभएको बताउनु भयो । ‘म सबै राजदूत र कुटनीतिज्ञहरुलाई आ आफ्नो देशमा नेपाल लगानीको राम्रो गन्तव्य भएको सन्देश फैलाउन आग्रह गर्दछु,’ उहाँले भन्नु भयो ।

कार्यक्रमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङ्ले बुद्धसँग सम्बन्धित स्थानहरुलाई लुम्विनी सर्किटमा जोडने गरी कपिलवस्तुको तिलौराकोटलाई पनि युनेस्को सूचिमा राख्ने प्रक्रियाका लागि आग्रह गरिने बताउनु भयो ।

कार्यक्रमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा.ल्हारक्याल लामाले सम्मेलनमा भएको उपस्थितिले बुद्धको सम्मान मात्र नगरी अझ बढी शान्तिपूर्ण र समृद्ध विश्व बनाउन जग बसाल्ने काम गरेको उल्लेख गर्नु भयो ।

लुम्बिनी कन्क्लेभमा चर्चित कलाकार उजय बज्राचार्यको कला प्रदर्शनी र अन्य आर्थिक विषयवस्तुमा विचार गोष्ठी पनि भएको थियो । विहान भएको नेपाल लगानी बोर्डका उपसचिव रमेश अधिकारीले नेपालमा रहेका लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा प्रकाश पार्नु भयो । साथै, नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालमा पर्यटनको असीमित सम्भावनाबारे आफ्नो विचार राख्नु भयो ।

एचसीसीएनका तर्फबाट डिन विष्णु कुमार अग्रवालले कन्क्लेभमा सहभागी सबै कुटनीतिज्ञ, वक्ता र सहभागीलाई धन्यवाद दिनु भयो । ‘यहाँहरुको उपस्थिति र योगदानले बुद्धलाई सम्मान मात्र गरेको छैन, अझ बढी शान्तिपूर्ण र समृद्धि विश्व बनाउनका लागि जग पनि बसाल्नु भएको छ,’ डिन विष्णु कुमार अग्रवालले भन्नु भयो ।

एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्नुका साथै प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तारलाई विस्तार गर्न भूमिका निर्वाह गर्दै आएको छ । रासस


ताजा खबर