राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

मन्त्रीपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त चार जनालाई सदस्य पदमा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले आयोगकाे सदस्यमा काडमाडौंका प्राध्यापक संगीता सिंह, जुम्लाका डा.कुसेन्द्रबहादुर महत, पाल्पाका प्राध्यापक शिवराज अधिकारी, र ललितपुरका डा. अरनिकोकुमार पाँडेलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी, बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै, नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय पनि मन्त्रीपरिषदको बैठकले गरेको छ । रासस


ताजा खबर