ब्यांक तथा वित्तीय संस्थामा राखिएको सर्वसाधारणको रकम सुरक्षित छ

नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाहरू सबल रहेको र सर्वसाधारणको लगानी सुरक्षित भएको बताएको छ।

विज्ञप्ति जारी गरेर राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाहरू केन्द्रीय ब्यांकको अनुगमनमा रहेको र तिनीहरूमा समस्या नभएको बताएको हो।

केन्द्रीय ब्यांकले ब्यांक तथा वित्तीय संस्थाहरूको पूँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्था सम्बन्धी परिसूचकहरू राम्रो स्थानमा रहेको उल्लेख गरेको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय ब्यांकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा ब्यांकहरू राष्ट्र ब्यांकको निर्देशनको अधीनमा रही सञ्चालनमा भइरहेको तथा तिनमा नियमित निरीक्षण र सुपरिवेक्षण हुने गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय ब्यांकले सर्वसाधारणको निक्षेप ब्यांक तथा वित्तीय संस्थामा सुरक्षित रहेको बताएको छ। ‘ब्यांक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणको निक्षेप परिचालन गर्ने हुँदा सर्वसाधारणको निक्षेपको सुरक्षालाई राष्ट्र ब्यांकले पहिलो प्राथमिकतामा राखेको हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

राष्ट्र ब्यांकले ब्यांकिङ जस्तो संवेदनशील क्षेत्रबारे सर्वसाधारणलाई भ्रमित गर्न भइरहेको दुष्प्रचारको पछाडि नलाग्न र लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक र सरोकारवालालाई ढुक्कसँग ब्यांकिङ कारोबार गर्न पनि अनुरोध गरेको छ।


ताजा खबर