रुसमा पाँचौ कार्यकाल पनि पुटिनले शासन गर्ने निश्चित

 रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौ कार्यकाल पनि भारी मतका साथ जित्ने एक्जिट पोलको नतिजा छ । एक्जिट पोलको नतिजाले पुटिनले ८७ प्रतिशत मत सहित विजयी हुने प्रक्षेपण गरेको छ ।

पुटिनसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वी नै नभएको अवस्थामा पुटिनको जित सुनिश्चित भएको निर्वाचन अघि नै अनुमान गरिएको थियो । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको मृत्युपछि पुटिनको एक्लो प्रतिस्पर्धा र औपचारिकताका लागि मात्रै गरिएको निर्वाचनका रुपमा विश्लेषकहरुले हेरेका छन् ।

निर्वाचनका क्रममा ८० जना प्रदर्शनकारीहरुलाई विभिन्न रुसी शहरहरुबाट पक्राउ गरिएको छ । विपक्षी नेता नाभाल्नीकी श्रीमती युलियाले आयोजना गरेको विरोधका कार्यक्रममा भेला हुन गरेको आव्हानका लागि मतदान केन्द्रहरु बाहिर ठूलो भीड जम्मा भएको थियो ।

७१ वर्षीय राष्ट्रपति पुटिन अर्कोपटक पनि निर्वाचित हुने सुनिश्चित भएपछि मतदानको पहिलो दुई दिन मतदानकेन्द्रहरुमा तोडफोडका कयौं घटना भएका थिए । रूसले कब्जा गरेको युक्रेनका भागहरू: जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा पनि मतदान गरियो । रासस / रोयटर्स


ताजा खबर