आइसिसी अध्यक्ष बार्कले नेपाल आउदै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले मार्च १८ देखि २८ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ । नेपाली क्रिकेटको अवस्था र विकास बारे अवलोकन गर्न बार्कलेले नेपाल भ्रमण गर्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यानले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बार्कलेको नेपाल भ्रमणले नेपाली क्रिकेटमा अवसरको सिर्जना हुने र विकासको गतिलाई थप टेवा दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेको छ ।

नेपाल भ्रमको क्रममा बार्कलेले कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानको अवलोकन पनि गर्नुहुनेछ । साथै उहाँले नेपालका प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग नेपाली क्रिकेटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग, आर्थिक पक्ष तथा खेलकुद नीतिबारे पनि छलफल गर्नु हुनेछ ।

बार्कलेले नेपाल भ्रमणका लागि आफू उत्साहित रहेको बताएको पनि क्यानले जनाएको छ । ‘‘म नेपालमै आएर यहाँको क्रिकेट विकास हेर्न उत्साहित छु । क्यानले क्रिकेटमा सहभागिता र चर्चा बढाउन राम्रो भूमिका खेलेको छ । पुरुष टोली टी–२० विश्वकप छनोट हुनु राम्रो उदाहरण हो,’’ बार्कलेले भन्नुभएको छ ।

विज्ञप्तिमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको भ्रमणलाई लिएर क्यान उत्साहित रहेको र यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताउनुभएको छ । लामो समय न्युजिल्यान्ड क्रिकेट बोर्डको अध्यक्ष रहनुभएका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बन्नुभएको थियो । रासस


ताजा खबर