प्रधानमन्त्री दाहाललाई तेस्रो पटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा उहाँको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ ।

पक्षमा बहुमत मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधिसभामा कायम २७५ सांसदमध्ये बुधबारको बैठकमा २६८ जनाको उपस्थिति रहेको थियो । एक जना सांसदले तटस्थमा मतदान गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार संसद् बैठकबाट विश्वासको मत लिनुभयो ।

विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभामा कायम सदस्यको १३८ मत ल्याउनुपर्ने हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई सोभन्दा बढी मत प्राप्त भएकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि २०७९ पुस १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुँदा पुस २६ गते पहिलो पटक संसद् बैठकबाट विश्वासको मत लिनुभएको थियो । सोपछि ६२ दिनमा प्रधानमन्त्री प्रचण्डले एमालेसँगको गठबन्धन त्यागी नेपाली कांग्रेससँग २०७९ फागुन १२ गते गठबन्धन गरी पुनः प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले पुनः २०७९ चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको थियो । अहिले फेरि कांग्रेससँग गठबन्धन त्यागी फागुन २१ गते एमालेसहित दलसँग नयाँ गठबन्धन बनाएर सरकारको जिम्मेवारीमा रहनुभएकाले काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले पुनः बुधबार तेस्रो पटक विश्वासको मत लिनुभएको हो ।

अहिलेको गठबन्धनमा प्रधानमन्त्रीसँग ६ दलको समर्थन रहेको छ । नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदले उहाँलाई पक्षमा विश्वासको मत दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाका सांसदले मत दिनुभयो ।

यसअघि २०७९ पुस २६ गते लिनुभएको विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले उहाँको समर्थनमा मत दिएका थिए ।

त्यसैगरी सत्ता गठबन्धन फेरिएपछि दोस्रो पटक चैत ६ गते प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिनुभएको थियो । दोस्रो पटक उहाँले सांसदहरुबाट १७२ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ८९ मत परेको थियो ।

प्रतिनिधिसभामा रहेको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोहीकारण प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिनुभयो । प्रधानमन्त्री प्रचण्डलाई स्वतन्त्र सांसद प्रभु साह, अमरेशकुमार सिंहले मतदान गर्नुभयो । रासस


ताजा खबर