इलाम २ को उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरिएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिनुभयो ।

यसैगरी, बैठकले सो उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय पनि गरेको छ । पार्टीलाई सरकार, संसद् र सङ्गठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताउनुभयो ।

रास्वपाले नयाँ सत्तारुढ गठनमा आबद्ध भएर पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागिता जनाएको छ । रासस


ताजा खबर