नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

विश्व बैङ्कको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैङ्कको आर्थिक तथा प्राविधिक सहायता बढाउन उहाँसँग आग्रह गर्नुभयो । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको उहाँले सचिवालयले जनाएको छ ।

विश्व बैङ्क नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताउनुभयो । सरकारको खर्च बढाउने, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा तीव्रता दिँदै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण विकास साझेदारका हैसियतले विश्व बैङ्कको सहयोग जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

“कतिपय आन्तरिक र कतिपय बाह्य कारणले अर्थतन्त्र केही दबाबमा छ । यो चुनौतीपूर्ण अवस्थामा विश्व बैङ्कबाट थप सहयोगको अपेक्षा हामीले गरेका छौँ”, अर्थमन्त्री पुनले भन्नुभयो । सार्वजनिक वित्तका क्षेत्रमा सुधार र खासगरी पुँजीगत खर्च बढाउने गरी आफूले काम गर्ने उहाँको भनाइ छ ।

विश्व बैङ्कको लगानीमा निर्माण प्रस्ताव गरिएको महत्त्वाकाङ्क्षी माथिल्लो अरुण जलविद्युत् आयोजना, प्रदेश तथा स्थानीय सडक पूर्वाधार निर्माण, डिजिटल नेपालसम्बन्धी आयोजनाका काम नेपालले प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री पुनले बताउनुभयो ।

अर्थमन्त्री पुनसँगको भेटमा देशीय निर्देशक जार्बोसले विश्व बैङ्कको लगानीमा सञ्चालित आयोजनाको प्रगति सन्तोषजनक बनाउन सरकारका तर्फबाट गर्नुपर्ने समन्वयका लागि ध्यानाकर्षण गराउनुभयो । विश्व बैंकले निर्माण गर्दै गरेको नयाँ साझेदारी रणनीतिको खाकाबारे समेत जार्बोसले मन्त्री पुनलाई अवगत गराउनुभयो ।

उहाँले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैङ्कअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठकको तयारीबारे पनि मन्त्री पुनलाई जानकारी गराउनुभयो ।

आइडीएले विकासोन्मुख मुलुकका लागि वित्तीय सहायता, सहुलियतपूर्ण ऋण र अनुदान प्रदान गर्दै आएको छ । रासस


ताजा खबर