राष्ट्रिय सभा अध्यक्ष निर्वाचन फाल्गुण २८ गते हुने

राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते सोमबारका लागि तय भएको हो ।

दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ सोमबार उम्मेदवारी दर्ता गर्ने सहमति भएको राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बताउनुभयो ।

उहाँको अध्यक्षतामा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख तथा मुख्य सचेतक र कार्यव्यवस्था तथा परामर्श समितिका सदस्यसँग छलफल भएको थियो । समितिमा उपाध्यक्षसहित हाल पाँच जना सदस्य रहनु भएको छ ।

राष्ट्रियसभा अध्यक्षका लागि मतदान फागुन २९ गते मङ्गलबार हुने छ । दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा फागुन २९ गते अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यतालिका प्रभावित नगरी कामकारबाही अगाडि बढाउने समझदारी भएकाले तालिकाबमोजिम नै निर्वाचन हुने भएको छ ।

फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो । रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन् ।

२० मध्ये राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि सकिएको थियो । त्यसैले नयाँ अध्यक्षका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको हो । रासस


ताजा खबर